
काठमाडौं । दशैँको माहोलमा विदेशबाट घर फर्किने र यहाँको रमाइलो छोडेर बाहिरिनेको दोहोरिलत्तो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । आफ्नो देश आउनेहरु अभिभावक, आफन्तको आशिर्वाद लिन दंग देखिन्छन भने दश नंग्रा खियाउन उता जानेमा सहिनसक्नु पीडा देखिन्छ । चाडपर्वमा घरपरिवार छोडेर जानुपर्ने बाध्यताले उनीहरुको भक्कानो छुटेको हुन्छ ।
सर्लाहीका नरेश यादव आफनो छोरा रोजगारीका लागि मलेसिया प्रस्थान गर्न लाग्दा सन्तान उडेको विमानको आवाज सुनेपछि भारी मन लिएर घर फर्कने सुरसारमा छन् । उनका लागि यो दशैँ, दशैँ जस्तो नहुने भएको छ । चाडबाडका बेला परिवारका सबै सदस्यसँगै बस्न पाए हुन्थ्यो भन्ने त उनलाई नलागेको कहाँ हो ? तर घर व्यवहार परिस्थितिलाई त्यो मञ्जुर भएन ।
महान चाड बडादशैँ घर आँगनमै आइसकेको बेला सयौं युवाहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई विदेशिने युवाहरुको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । परदेशिनेहरु आँखाको डिलमा आँशु लिएर जबर्जस्ती मुस्काएका छन् ।
पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडी मुलुक जान लागेका युवाहरुको मन भारी छ । यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा दिएको छैन् ।
चाडबाडको समयमा विदेशिनेको संख्या जति छ, त्यतिनै विदेशमा रहेकाहरु घर फर्किरहेका छन् । लामो समयदेखि विदेशमा श्रम गर्दै आएका उनीहरु बर्ष दिनको चाडबाड परिवारसंग मनाउने संयोग जुर्दा दंग देखिन्छन् ।
त्यसो त लामो समयदेखि रोजगारीका लागि विदेशिएका अर्का युवा भने बल्ल बल्ल बिदा मिलाएर आएको तर बिदा नमिल्नेको हकमा विदेशमै भएपनि चाडपर्वको सम्झना आउने गरेको अनुभव छ ।
सबैका लागि खाना, नाना र छानाको मेसो देशमै मिलेको भए कसैले पनि यसरी मन अमिल्याएर विदेशको माटो टेक्नु पर्दैनथ्यो होला ।
प्रतिक्रिया दिनुहोस्