
सिन्धुली । सिन्धुलीमा कमलामाई नगरपालिकाको वडा नं ६ रातमाटामा घडेरी विकास गरी व्यवस्थित बसोबासको प्रबन्ध गरिएकाे छ ।
जसका कारण स्थानीयबासीलाई सुविधा प्राप्त भएको हाे । जिल्ला सदरमुकाम सिन्धुलीमाडीको मध्यभाग रातमाटामा व्यवस्थित घर आवास क्षेत्रको विकास भएपछि सबै खाले मानवीय भौतिक सुविधाहरु समेत उपलव्ध भएको हाे । विगतमा स्थानीय कमलामाई नगरपालिका र यशियाली विकास बैंक अन्तर्गत शहरी विकास तथा वातावरणीय सुधार आयोजनाले याे काम सम्पन्न गरेको हो । सोही क्षेत्रको कुल १५ बिघा जग्गालाई व्यवस्थित रुपमा सम्याउने, सडक निर्माण गर्ने, खानेपानी, विद्युत र ढल निकासको समेत व्यवस्था गरिएको हो ।
घडेरीको रुपमा व्यवस्थित रुपमा तयार भएका जग्गाहरु सर्व साधरणहरुका लागि फिर्ता गरी बाँकी जग्गाहरु बिक्री वितरण समेत गरिएको थियो । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा ग्रामीण बस्तीहरुबाट बसाई सरेर आउनेहरुको चाप बढेपछि व्यवस्थित घडेरी विकासका लागि जग्गाहरुलाई एकीकृत पारी घडेरी विकास गरिएको हो ।
सदरमुकाम सिन्धुलीमाडीमा यातायात, संचार, खानेपानी शिक्षा, स्वास्थ्यको सुविधा बढी नै भएकाले केही वर्ष यता मानिसहरु बसाई सरी आउने क्रममा समेत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्