
सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा औंलो रोग उत्पन्न गर्ने लामखुट्टेको प्रकोपका कारणले औंलोका बिरामीहरु पनि फेला पर्न थालेका छन् ।
लामखुट्टेको टोकाईले डेंगुको प्रकोप बढेको समयमा जिल्लाका कमलाखोंच र मरिण क्षेत्रमा ज्वरो आएका बिरामीहरुमा औंलो राेगको लक्षण फेला परेको स्वास्थ्य प्राविधिकहरुले बताएका हुन् । औंलो राेगका बिरामीहरु अस्पताल र स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका कारणले याे रोगको निवारणका लागि लामखुट्टे मार्न आईकम विषादी प्रभावित स्थानहरुमा छर्न जरुरी भएको सिन्धुलीका स्थानीय नारायण भुजेलले बताउनुभयाे ।
औंलो रोग उत्पन्न गर्ने लामखुट्टे मार्ने कार्यका लागि सिन्धुलीको कमलाखोंच र मरिण क्षेत्रका विभिन्न स्थानहरुमा विगतमा मलेरिमा रोगका विरुद्ध विषादी छर्ने गरिएको थियो । तर कोरोना भाइरसको महामारीपछि रोकिएको छ। लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने महामारीको रुपमा चिनिने औंलो रोगका बिरामीहरुको सङ्ख्या सिन्धुलीमा वर्षेनी फेला पर्दै आएका छन् । तर स्लाइड सङ्कलन प्रभावकारी नहुँदा त्यस्ता बिरामीको सङ्ख्या घट्न सकेकाे छैन्।
विगतका वर्षहरुमा औंलो रोग परीक्षणका लागि सिन्धुलीमा १५ हजार ९ सय १२ मानिसहरुको स्लाईड संकलन भएको थियो । विगतको एक स्वास्थ्य तथ्यांकका अनुसार नेपालमा ३५ जिल्ला औंलो रोग रहेको मध्धे उच्च खतरामा रहेका जिल्लाहरुमा सिन्धुली, महोतरी, इलाम, मोरङ, झापा, काभ्रेपलाञ्चोक, नवलपरासी, डडेल्धुरा, कञ्चनपुर, कैलाली र बर्दिया रहेका थिए ।
औंलो रोग बढ्नुमा औंलो रोगप्रतिको बेवास्ता हुनु, लामखुट्टेको टोकाई हुनु, तथा भू–मण्डलीय तापक्रम बढनु पनि हो । याे रोगको शंका लागेमा जो कोहीले पनि आफ्नो रगतको परीक्षण गराउनुपर्दछ । औंलोको रगत जाँच नि:शुल्क रुपमा हुने गर्दछ । औंलो रोग लागेमा पूरा समयसम्म औषधिको सेवन गर्नुपर्ने समेत हुन्छ ।
लामखुट्टेको टोकाईबाट याे रोग सर्ने हुँदा मानिसहरुले झुलभित्र सुत्ने, पूरै लुगा लगाउने, लामखुट्टे् भगाउन धूप बाल्ने र किटनाशक औषधिको प्रयोग गर्ने गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्