२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा २ मतदानस्थल सारिनुका साथै २ वटा नयाँ केन्द्र थपियाे


182
Shares

स्याङ्जा । स्याङ्जामा निर्वाचन आयोगले यसअघिका निर्वाचनमा मतदान हुँदै आएका २ वटा मतदानस्थल सारेको छ ।

आयोगले २ वटा नयाँ केन्द्र समेत थपेको हाे । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले २ वटा मतदानस्थल स्थानान्तरण गर्ने र २ वटा केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

जिल्लामा कुल १सय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र विरुवा गाउँपालिकाका एक-एक मतदानस्थललाई स्थानान्तरण गरिएको उहाँले बताउनुभयाे । वालिङ नगरपालिका–८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ-८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैंचामा सारिएको उहाँकाे भनाइ छ।

विरुवा गाउँपालिका-१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई विरुवा-१ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उहाँले बताउनुभयाे । यसअघिका निर्वाचनमा १ सय ९९ मतदानस्थलमा ३ सय १८ वटा मतदान केन्द्रमा मतदान भएकाे सूचना अधिकारी गौतमले बताउनुभयाे । उहाँले अहिले २ वटा नयाँ निर्वाचन केन्द्र थप गरी ३ सय २० वटा पु्र्याइएको बताउनुभएकाे छ ।

२ वटा नयाँ मतदान केन्द्र वालिङ-४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै २ वटा मतदान केन्द्र भएको छ । केदारनाथ मन्दिरमा एउटा थपिएसँगै ३ वटा मतदान केन्द्र पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि कुल मतदाता २ लाख ४४ हजार ८९ जना रहेका छन् ।

तीमध्ये महिला १ लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार ३ सय १० र अन्य एकजना रहेकाे आयोगले जनाएको छ।भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो र पुराना भवन लगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको निर्वाचन आयोगले जनाएकाे छ ।