११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


समानुपातिकको संशोधित बन्दसूचीबाट २९ जना उम्मेदवारको नाम फिर्ता


1.3k
Shares

काठमाडाैं । राजनीतिक दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको संशोधित बन्दसूचीमा सुचीकृत २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको लागि समानुपातिक बन्दसूचीबाट प्रतिनिधिसभा सदस्यतर्फ ९ र प्रदेशसभातर्फ २० जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेस ४, जनता समाजवादी पार्टी ३, नेकपा माओवादी केन्द्र १ र नेकपा एकीकृत समाजवादीबाट १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ प्रदेश-१ का ६, मधेश २, बागमती १०, गण्डकी र लुम्बिनीका १-१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आयोगले उम्मेदवारी फिर्ताको लागि आज साेमबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म समय दिइएको थियो ।

प्रतिपक्षी नेकपा एमालेबाट परेको सूचीबाट नाम फिर्ता लिने कोही नभएकाे निर्वाचन आयोगले जनाएकाे छ ।