
काठमाडौं । चाडपर्वको सुरुवातसँगै भोजपुरमा खुकुरीको माग बढेको छ ।
चाडबाड मान्न बाहिरबाट भोजपुर आउनेहरुले चिनोको रुपमा भोजपुरे खुकुरी लाने भएका कारण खुकुरीको माग बढ्दै गएको हो । भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । कालिगढहरुले चाडबाडमा खुकुरी धेरै बिक्ने भएकाले उनीहरुले दसैं आउनु अगाडि नै खुकुरी बनाउने गर्छन् ।
तर पछिल्लो समय खुकुरीको माग बढेअनुसार दक्ष कालीगढको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठले खुकुरीको माग र व्यवसाय राम्रो भएपनि दक्ष कालिगडको अभाव भएको गुनासाे गर्नुभयो । भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन भोजपुर बाहिरका जिल्ला र विदेशमा समेत माग भएकाले धान्न नसकिएको उहाँले बताउनुभयो ।
उहाँले मागअनुसार खुकुरी उत्पादन हुन नसकेको बताउनुभयो। उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडालगायतका खुकुरी उत्पादन हुने गरेको छ । भोजपुरमा हुने स्वागत र बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ । सरकारी निकायबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला र काठमा सहजता ल्याइदिनु पर्ने माग खुकुरी व्यवसायीहरूको छ ।
प्रतिक्रिया दिनुहोस्