
काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय अझै अलपत्र परेको छ ।
गोदावरीमा राजधानी बनाउने निर्णय भए पनि प्रदेश सरकारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको हाे। ४ वर्ष अघि कैलालीको गोदावरीमा राजधानी राख्ने निर्णय गरिएको थियो । सुदूरपश्चिम प्रदेश नामकरण गरेको प्रदेश सरकारले नाम कार्यान्वयन गरेपनि राजधानीका लागि तोकेको स्थानको जग्गाको अधिकार समेत पाउन नसक्दा राजधानी अलपत्र परेको हो ।
संघीय सरकारले जग्गा स्वामित्व नदिंदा ४ वर्षसम्म पनि भौतिक निर्माणका कार्य अघि बढाउन नसकेको प्रदेश सरकारले आरोप लगाएको छ । प्रदेश सरकारले गोदावरी नगरपालिका वडा नम्बर २ र ४ को क्षेत्रमा रहेका जग्गामा प्रदेश राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले संरचना निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा दुई करोड ७४ लाख र आर्थिक वर्ष २०७८/०७९ मा दुई करोड ७२ लाख विनियोजन गरेको थियो । चालू आर्थिक वर्ष २०७९/०८० मा भने बजेट राखिएको छैन् ।
संघीय सरकारले जग्गाको भोगाधिकार नदिंदा निर्माणको काम अघि बढ्न नसकेको दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्