२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेनी–जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध

'टीका लगाउन जानेआउनेलाई सास्ती'

208
Shares

म्याग्दी । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायतका एक दर्जन बढी सडकहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । कतिपय स्थानमा सडक नै भाँसिएको छ ।

तीन दिनदेखिको अविरल वर्षाले सडक अवरुद्ध भएपछि दशैंका टीका लगाउन र आर्शिवाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । यातायातका साधनहरु संचालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।

अविरल वर्षा नरोकिदा दशैं प्रभावित भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका वासिन्दाले सर्तकता अपनाएका छन् । खहरे र ग्रामीण क्षेत्रका खोलाहरुमा भेलबाढी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्ग समेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका वासिन्दाहरु सास्ती खेप्न वाध्य हुनु परेको बेनी नगरपालिका–३ का सोमबहादुर पुनले बताए ।

त्यसैगरी राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्तिहरु मुस्ताङमा नै रोकिन वाध्य भएका छन् ।