
म्याग्दी । म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर क्षेत्रफलमा लगाएको धान-बालीमा क्षति पुगेको छ ।
यहि असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका हुन् । पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ । तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ । जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ र देवीस्थान लगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।
यस वर्ष धानमा रोग किराको प्रकोप नदेखिएको र सिंचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए । तर, थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि बेनी नगरपालिका-२ ज्यामरुककोटका किसान नारायण सापकोटाले बताउनुभयाे ।
म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १० र लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक ४ हजार मेट्रिक्टन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क रहेकाे छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिंचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयाे ।
गत वर्ष ३ हजार ९ सय २५ हेक्टरमा १३ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएको थियाे । तर यस वर्ष भने धान भित्राउने समयमा भएको मौसमी प्रतिकूलताका कारण उत्पादन घट्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्