
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।
विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष भने असोजमा नै हिमपात भएपछि स्थानीय चिन्तित भएका हुन् । ४ दिनदेखि भएको लगातारकाे वर्षा अझै रोकिएको छैन् । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्रहरु सेताम्यै हुनका साथै अत्याधिक चिसो समेत बढेकाे छ ।
चिसाे बढेसँगै स्थानीयलाई सास्ती भएको धवलागिरी गाउँपालिका वडा नं १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे । धवलागिरी गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका छन्त्यालले आफू जान्ने भएदेखि नै असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताउनुभयाे ।
हिमपातका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका र पशुचौपायालाई कठिन भएको प्रवक्ता छन्त्यालले बताउनुभयाे । विगतमा हिमपात हुँदा खुशी हुने किसानहरु यस वर्ष भने असोजमा नै हिमपात भएकोले चिन्तित भएका छन् । हिमपातले खेती-बालीमा राम्रो हुने भएपनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसानहरु चिन्तित भएका हुन् ।
समुद्री सतहबाट ३ हजार ३ सय २० फिट उचाईमा अवस्थित गुर्जामा बाक्लो हिउँ परेको प्रवक्ता छन्त्यालले बताउनुभएकाे छ । साथै मनाङको उच्च लेकाली क्षेत्रमा पनि समेत हिमपात भएको छ ।
प्रतिक्रिया दिनुहोस्