१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशभर डेंगुबाट ४१ जनाकाे मृत्यु, ३१ हजार बढी संक्रमित

झाडापखाला, हैजा र डेंगुबाट बच्न सरकारको आग्रह

572
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल वर्षाका कारणले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न सचेत गराउनुभएको हाे । हैजाबाट बच्न पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर पिउन उहाँले आग्रह गर्नुभएकाे छ ।

साथै व्यक्तिगत सरसफाईमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, खानालाई छोपेर राख्न, काँचै खाना मिल्ने फलफूल र तरकारीको सरसफाईमा ध्यान पुर्याउन समेत उहाँले सुझाव दिनुभएको छ । उहाँले खुल्ला दिसा पिसाब नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसा पिसाब गरिसकेपछि साबुनपानीले मिचिमिचि हात धुन समेत आग्रह गर्नुभएको छ ।

डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले पानी जम्न नदिने, घरका झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन र पूरै शरीर ढाक्ने लुगा लगाउन सरकारले भनेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशका ७ वटै प्रदेशका ७६ जिल्लामा ३१ हजार १ सय ३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।