२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जाको वालिङमा पहिरोका कारण ५ घर उच्च जोखिममा

अधिकांश ग्रामीण क्षेत्रका सडक अवरुद्ध

416
Shares

स्याङ्जा । स्याङ्जाकाे वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारीमा ४ दिनदेखि परिरहेको अविरल वर्षासँगै पहिरो जाँदा ५ वटा घरहरु उच्च जोखिममा परेका छन् ।

धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घर अगाडि पहिरो जाँदा घरहरु उच्च जोखिममा परेका हुन् । जोखिममा रहेका घरका परिवारलाई अन्यन्त्र सारिएकाे छ । जोखिममा रहेका ५ घर मध्ये ३ वटा घरका परिवारलाई मगर भवनमा सारिएको छ । साथै २ वटा घरका परिवार आफन्तको घरमा बसेको वालिङ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष नमलाल डुम्रेले बताउनुभयो ।

साेही घरमा रहेका सम्पूर्ण सामानहरु समेत अन्यन्त्र सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम समेत गरिएको छ । नगरपालिकाले तत्काल पहिला रोकथामका लागि प्लाष्टिकहरु उपलब्ध गराएको छ । सशस्त्र र जनपथको सहयोगमा प्लाष्टिकहरु बिछ्याईएको छ ।

वर्षा निरन्तर भएका कारण सचेत रहन समेत आग्रह गर्दै कहीं कतै जोखिम अवस्था सिर्जना भएमा सम्बन्धित वडा तथा नगरपालिकामा सूचना गरी सुरक्षित रहन वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले आग्रह गर्नुभएको छ ।

वर्षा निरन्तर भइरहेकाले दर्जनौं घरहरू जोखिममा रहेका छन् । अधिकांश ग्रामीण क्षेत्रका सडक समेत अवरुद्ध भएका छन् । सडक खुल्लाउने प्रयास भएपनि वर्षाका कारण कठिनाइ भइरहेकाे छ ।