
काठमाडौं । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज शनिबार बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिक र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्