
एजेन्सी । रुसको नियन्त्रणबाट भर्खरै मुक्त पूर्वीशहर लिमानमा एउटा सामूहिक चिहान फेला परेको छ ।
उक्त चिहानमा फेला परेको शव आमसर्वसाधारण र सैनिकहरूको रहेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । यद्यपी यसमा कति शवहरू छन् भन्ने स्पष्ट नरहेको जनाइएकाे छ । एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै युक्रेनको एक समाचार एजेन्सीले चिहानमा १ सय ८० भन्दा बढी शव रहेको जनाएको छ ।
जसमध्ये धेरै साना बालबालिकाको शव फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनी सेनाले गत साता रुसको नियन्त्रणबाट डोनेस्क क्षेत्रको लिमानलाई पुनः कब्जामा लिएको थियो। युक्रेनी अधिकारीहरूले नियमित रूपमा रुसी सेनालाई कब्जा गरिएको क्षेत्रहरूमा अत्याचार गरेको आरोप लगाउँदै आएका छन् । याे आरोप रुसले भने अस्वीकार गर्दै आएको छ ।
यसअघि गत महिना उत्तरपूर्वी शहर इज्युमको एउटा चिहानबाट ४ सय ३६ जनाको शव निकालिएको थियो । अधिकांशको मृत्यु हिंसात्मक भएको पाइएको थियो । संयुक्त राष्ट्रसंघका अनुसन्धानकार्ताहरुले यसअघिनै युक्रेन द्वन्द्वमा युद्ध अपराध भएको निष्कर्ष निकालेका छन् । नागरिकस्तरमा रूसी बमबारी, मृत्युदण्ड, यातना र यौन हिंसा समावेश भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्