
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।
मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । २०६४/२०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
मंसिरमा हुने आमनिर्वाचनका लागि पनि टिकटको आकांक्षा राखेपछि नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोक-१ बाट सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । तर सभामुख सापकोटाले सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः प्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राखेकोमा धन्यवाद समेत दिनुभएकाे छ ।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटको लागि आकांक्षा राख्नुभएको छ । सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो ।
अहिले सिन्धुपाल्चोक-१ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेपनि सभामुख सापकोटाको चुनाव नलड्ने घोषणासँगै गठबन्धनले के गर्छ भन्ने चासो बढेको छ । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि आगामी निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्