२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा गठबन्धनबाट महिलाको उम्मेदवारी शून्य


65
Shares

झापा । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ ।

तर, आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि झापामा सत्तारुढ गठबन्धन दलले महिलालाई स्थान नदिएको पाइएको छ । गठबन्धन दलकातर्फबाट उम्मेदवारी दिने प्रक्रियामा महिलाको अवस्था शून्य देखिएको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि झापामा सत्तारुढ गठबन्धन दलले महिलालाई उम्मेदवार नै बनाएको छैन् । लैंगिक आधारमा अधिकार स्थापित गर्न राजनीतिक दलको महत्वपूर्ण भूमिका हुनेगर्छ  । तर, सत्तारुढ गठबन्धन दलले यस पटक महिलालाई स्थान नदिएको पाइएको हो ।

झापाका ५ वटै निर्वाचन क्षेत्रमा आइतबार गरिएको उम्मेदवारी दर्ताका क्रममा सत्तारुढ गठबन्धन दलकातर्फबाट एक जना पनि महिलाको उम्मेदवारी नपर्नुले महिलालाई स्थान नदिएको प्रष्ट भएकाे छ । झापा क्षेत्र नं–१ मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं–१ को (१) मा नेपाली कांग्रेसका गोपाल तामाङ र १ को (२) मा नेकपा माओवादीका श्यामवीर लिम्बुले मनोनयन दर्ता गराउनुभएको हो ।

त्यस्तै, क्षेत्र नं–२ मा गठबन्धन दलको समर्थनमा हरिकुमार रानाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ को (१) मा नेकपा समाजवादीका पुष्पराज पोखरेल र २ को (२) मा नेपाली कांग्रेसका नेता खगेन्द्र मैनालीले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं–३ मा गठबन्धन दलकातर्फबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं–३ को (१) मा नेपाली कांग्रेसका नेता भूमिप्रसाद राजवंशी र ३ को (२) मा नेकपा माओवादीका पूर्णसिंह राजवंशीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

क्षेत्र नं–४ मा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । प्रदेश सभा सदस्यका लागि भने क्षेत्र नं–४ को (१) मा गठबन्धन दलकातर्फबाट नेकपा माओवादीका झलकसिंह दर्लामी र ४ को (२) मा नेपाली कांग्रेसका युवानेता एकराज उप्रेतीले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं–५ मा गठबन्धन दलकातर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता खगेन्द्रपाण्डव अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं–५ को (१) मा नेपाली कांग्रेसका जीवनकुमार राई र ५ को (२) मा नेकपा माओवादीका रेवतराज पुरी गगनले उम्मेदवारी दर्ता गराएका छन् ।