
काठमाडौं । तीन दशकदेखि डडेलधुराबाट एकछत्र चुनावी प्रतिस्पर्धामा रहेका देशकै पुरानो पार्टी कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पाँच पटक प्रधानमन्त्री भएको रेकर्ड मात्र छैन, लगातार सातौं पटक चुनावी प्रतिस्पर्धी रहेको नयाँ कीर्तिमान कायम भएको छ । ६ हजार बढी चुनावी प्रतिस्पर्धामा रहेकामध्ये अधिकांश खेलाडी पुरानै अनुहार छन् । यो समकालीन राजनीतिमा पुस्तान्तरणको आवाज भाषणको मीठो मसला बन्ने निश्चित छ ।
एक अन्तर्राष्ट्रिय समाचार संस्थाको अन्तरसंवाद कार्यक्रममा नेपाली नेताको प्रज्ञा र चेतनाको विषय उठाएपछि शेरबहादुर देउवाको आक्रोशको शिकार हुनुभएका युवा सागर ढकालले देउवाकै गृह जिल्ला पुगेर उहाँलाई टक्कर दिने घोषणासहित उम्मेदवारी दर्ता गर्नुभएको छ । तर उहाँको उत्तेजनालाई न त्यहाँका मतदाताले प्रिय माने, न नयाँ पुस्ताको प्रतिनिधि पात्रकै रुपमा स्वागत गरे ।
नेपालको मूलधारको राजनीति सम्हाल्दै आएको पार्टी शीर्ष नेतृत्व सात दशक उमेर माथिका छन् । २०४६ सालको राजनीतिक परिवर्तनले स्थापित गरेका नेताहरु नै टिकट बाँड्ने मुखिया भएकै कारण पनि नयाँपुस्ताप्रति उनीहरुको विश्वास देखिदैन । टिकटलाई समयको माग सम्बोधन गर्ने भन्दा पनि आज्ञाकारी पोस्ने, पार्टीभित्रका क्रान्तिकारी ठीक लाउने अस्त्रका रुपमा उपयोग गरेको पाइन्छ ।
कांग्रेसले विश्वकै मर्यादित शैक्षिक स्थल हावर्ड विश्वविद्यालय दीक्षित डा. स्वर्णिम वाग्लेलाई राजनीतिको पहिलो अग्निपरीक्षामै सामेल गर्न आवश्यक ठानेन । जबकी उहाँको अनुहारमा स्वतन्त्र र बौद्धिक समूहले भरोसा राखेको थियो । ८० नाघेका नब्बेको हाराहारी पुगेका महन्थ ठाकुर, आठ दशकका रामचन्द्र पौडेल, चित्रबहादुर केसी, ७० नाघेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, केपीशर्मा ओली, माधव नेपाल नेपालीको भाग्य बद्ल्ने मनोकांक्षा बोकेर चुनावी मैदानमा होमिनुभएको छ ।
उहाँहरुपछिका अर्को पुस्ता जसले राजनीतिको बागडोर सम्हाल्ने मौकाको पर्खाइमा बस्दाबस्दै सत्तरीको नेटो छुने क्रममा छ । पूर्णबहादुर खड्का, प्रकाशमानसिंह, उपेन्द्र यादव, ईश्वर पोखरेल, विष्णु पौडेल, देव गुरुङ, सुरेन्द्र पाण्डे, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. शशांक कोइरालाजस्ता पात्र पर्छन ।
शीर्ष नेताको स्वार्थविपरीत चल्नासाथ पखेटा काटिने त्रास छ । संघर्षबाट खारिएको गगन थापा, योगेश भट्टराई, विश्वप्रकाश शर्मा, शंकर पोखरेल, रामकुमारी झाँक्री, राजेन्द्र राई, खिमलाल भट्टराई, धनराज गुरुङ, वर्षमान पुनको पुस्तासँग हुटहुटी त छ तर शीर्ष नेताको आदेश क्रस गर्ने ह्याउ छैन ।
यो चुनावपछि पनि राष्ट्रिय राजनीतिमा उनीहरुको हस्तक्षेप सम्भव देखिदैन । मधेश केन्द्रित दलमा महेन्द्र यादव, राजेन्द्र महत्तो, शरतसिंह भण्डारी, अनिल झाहरुकै अनुहार दोहोरिने स्पष्ट छ । शक्ति र सत्ताका लागि चुनावलाई यति निकृष्ट बनाइँदैछ कि जिन्दगीभर राजतन्त्र बोकेर हिँडेका कमल थापा यो चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर जनताको घरदैलोमा भोट माग्दै हुनुहुन्छ ।
जिन्दगीभर त्यही प्रवृत्ति विरुद्ध लडेको एमालेले दीपक बोहोरालाई जिताउने जिम्मेवारी आफनो काँधमा सगौरव लिएको छ । अबको सम्पूर्ण राजनीतिक गतिविधि चितवनबाट गर्ने घोषणा गरी घरपैंचो गर्न भ्याउनुभएका प्रचण्ड सुरक्षित क्षेत्र खोज्दै गोरखा पुग्नुभएको छ । आफ्नो चुनावी क्षेत्र प्रचण्डलाई जिम्मा लगाएर काठमाडौंमा छोरीका लागि सुरक्षि गर्नुभएका बाबुराम भट्टराई त्यागको राजनीति सम्झाउन व्यस्त देखिनुहुन्छ ।
शीर्ष नेतृत्वमा जसरी भएपनि चुनाव जित्नुपर्छ भन्ने आकांक्षाले घर गरेको छ । यसको पहिलो अन्तिम एउटै उद्देश्य हो– सत्तामाथिको वर्चस्व । अब पनि एजेण्डाले नभई सन्कीले देश चलाउने त्यो भोकले देशमा थप जटिलता थपिने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्