१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ताप्लेजुङकाे मनी ट्रान्सफर लुटपाटमा संलग्न ३ जना पक्राउ


130
Shares

काठमाडौं । प्रहरीले ताप्लेजुङस्थित कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न ३ जना लुटेरालाई पक्राउ गरेकाे छ ।

प्रहरीले उनीहरुका साथबाट ६ लाख १३ हजार ३ सय ४० रुपैयाँ र १ सय ४३ तोला सुन समेत बरामद गरेको हाे । जिल्ला सदरमुकाम फुङ्लिङस्थित सोही ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर ४ जना लुटेराले यही असोज १७ गते नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईले लुटपाटमा संलग्न ४ जना आरोपीमध्ये ३ जनालाई मंगलबार राति पक्राउ गरिएको बताउनुभयाे ।

उहाँले उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–२ का २९ वर्षीय राजन भनिने राजायन्द्र पर्तेल, झापाको शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनार र झापाकै अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पर्तेल रहेका छन् । फरार रहेका एक जनाको खोजी कार्य जारी भएकाे प्रहरीले जनाएको छ । प्रहरीले नगद र सुनका गरगहनाबाहेक एकथान पेस्तोल, कर्मचारीलाई नियन्त्रणमा लिनका लागि प्रयोग गरिएका सामान बरामद गरेको छ ।

मनी ट्रान्सफरका सञ्चालक अम्बरकुमार श्रेष्ठले दिएको जाहेरीमा ११ लाख ६३ हजार २५० रुपैयाँ लुटपाट भएको उल्लेख गरिएको छ । आरोपितले आइएमईमा कार्यरत कर्मचारी ३३ वर्षीया आशामाया प्रधानलाई पेस्तोलसहित नियन्त्रणमा लिएर नगद र गरगहना लुटपाट गरेका थिए । आरोपितविरुद्ध अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।