
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा जान हिंडेका पर्यटकहरू मौसम खराब भएका कारण रामेछापमा अलपत्र परेपछि सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा झरेका छन् ।
५ दिनदेखि तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम प्रतिकुल हुँदा रामेछाप विमानस्थलमा करिब २ हजार बढी पर्यटक अलपत्र भएका थिए । अन्य वैकल्पिक मार्गबाट खुम्बु जानका लागि फाप्लु विमानस्थलमा पर्यटकहरूको ओहिरो लागेको छ ।सोमबार र मंगलबार गरी २५ भन्दा बढी उडान भएको फाप्लुमा करिब साढे ३ सय पर्यटक फाप्लुमा ओर्लिएका छन् ।
सोमबार रामेछापबाट १६ उडानमार्फत करिब २ सय ५० जना र मंगलबार ५ वटा हवाईजहाजबाट ९० जना पर्यटक फाप्लुमा झरेको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिनुभयो । मौसममा खराब भएर उडान हुन नसक्दा लुक्लामा पनि ४ सय बढी पर्यटक अलपत्र परेका छन् ।
तेन्जिङ हिलारी विमानस्थल र गोरक्सेप क्षेत्रमा पर्यटकहरू मौसम सुधारको पखाईमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्