
काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ ।
बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सिता राना मगरले १६ रनको योगदान गरिन् । बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले अविजित १९ तथा सुमन खतिवडाले समेत १९ रन बनाइन् । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपाल एपीएफ क्लबले २० रन अतिरिक्तमा खर्चिएको थियो । एपीएफका लागि रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान १÷१ विकेट लिएका थिए ।
जितसँगै एपीएफ २ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएसँगै बागमतीले शीर्ष स्थान पुग्ने अवसर गुमाएको छ । बागमती २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागी छन् । समूह ‘ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका न्छ । यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्