१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विद्यावारिधी गरेका नेताले नै पाएनन् टिकट, धेरै कांग्रेसमा


2.405k
Shares

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा उच्च शिक्षा हासिल गरेको नेताहरुको संख्या अन्य पार्टीको तुलनामा धेरै छ । कांग्रेसमा डा. उपाधि लिनेको संख्यापनि समकालिन दलहरुमा भन्दा निकै बढी छ । कांग्रेसमा केही नेता विद्यावारिधी डा. छन् भने कतिपय नेता मेडिकल डा. छन् । डा.को संख्या धेरै भएको कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा भने डा.को अवस्था दयनिय देखिएको छ ।

अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएका नेपाली कांग्रेसका पूर्वकेन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले आसन्न निर्वाचनमा मोरङ २ बाट उम्मेदवार बन्ने आकांक्षा राख्नुभएको थियो । स्थानीय पार्टी समितिबाट उम्मेदवार सिफारिस भएपनि डा. रिजाललाई पार्टी केन्द्रले टिकट दिएन । अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल डा. रिजालले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गर्नुभएको थियो ।

तर, उक्त निर्वाचन क्षेत्रबाट पार्टीले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री एंव नेतृ सुजाता कोइरालालाई टिकट दियो । विषयवस्तुमा राम्रो ज्ञान र दख्खल भएका डा. रिजाल संसदमा विपक्षीका लागि भारी पर्ने गर्नुहुन्थ्यो । विषयवस्तु, तथ्य र तर्कले विपक्षीलाई रक्षात्मक बन्न बाध्य पार्ने डा. रिजालको संसदमा उपस्थिति अबको ५ वर्षसम्म हुने छैन । भारतको पुणे विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएका पूर्वअर्थमन्त्री डा. रामशरण महत अर्थशास्त्र र मुलुकको आर्थिक स्थितिका बारेमा मजबुद पकड राख्ने नेताको रुपमा चिनिनुहुन्छ । नेपालको राजनीतिमा कुनै समय यस्तो थियो कि नेपाली कांग्रेसको सरकार बनेको बेला पार्टीबाट डा. महत निर्बिकल्प अर्थमन्त्रीको उम्मेदवार हुने गर्नुहुन्थ्यो । पटक-पटक अर्थमन्त्री बनिसक्नुभएका डा. महत यसपटक भने संसदीय निर्वाचनको लागि टिकट पाउनबाट नै बन्चित हुनुभएको छ ।

संसदीय निर्वाचनमा निरन्तर नुवाकोट २ बाट निर्वाचन लड्दै आउनुभएका डा. महतले यसपटक पनि सोही क्षेत्रबाट आकांक्षा राख्नुभएको थियो । तर, स्थानीय पार्टी समितिबाट उम्मेदवार सिफारिस हुँदा आफ्नै सहोदर भाई डा. प्रकाशशरण महत तगारो बन्नुभयो । उम्मेदवार टुंगो लगाउने सर्वोच्च निकाय पार्टीको संसदीय बोर्डबाट टिकट पाउने आशा राखेपनि उक्त क्षेत्र आफ्नै पार्टी नेतृत्वको सत्ता गठबन्धनको घटक माओवादी केन्द्रको भागमा परेपछि डा.महतको टिकट पाउने बाटो पूर्णरुपमा बन्द भयो । उमेरका कारण पनि आगामी निर्वाचनमा डा. महतलाई चुनावी प्रतिष्पर्धामा फर्किन निकै कठिन छ ।

आसन्न निर्वाचनमा टिकट पाउनबाट बञ्चित हुने कांग्रेसका अर्का डा. हुनुहुन्छ भौतिक पूर्वाधार विज्ञ डा. गोविन्द पोखरेल । पाखरेलले पार्टीको तर्फबाट प्युठानमा टिकटको आकांक्षा राख्नुभएको थियो । तर, उक्त निर्वाचन क्षेत्र कांग्रेस नेतृत्वको सत्तागठबन्धनको घटक जनमोर्चाको भागमा पर्‍यो । टिकटबाट बञ्चित अन्य दलले प्युठान बाहिरका कुनैपनि निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेपनि कांग्रेस केन्द्रिय सदस्य समेत रहेका पोखरेलले स्वीकार गर्नुभएन ।

त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले यसपटक मोरङबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गर्नुभएको थियो । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनुभएकी संग्रौलालाई यसपटक संसदमा छिर्न पार्टी विधानले पनि प्रत्यक्ष चुनाव लड्नै पर्ने बाध्यता थियो । तर, पार्टी र सत्ता गठबन्धनभित्रको परिस्थिति आफू अनकुल बनाउन नसक्दा प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षामा ठेस लाग्यो । संसदमा समसामयिक विषयवस्तुमाथी कडा टिप्पणीमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउने शैलीका कारण चर्चित संग्रौलाको पनि अबको ५ वर्ष संसदमा उपस्थिति रहने छैन ।

कांग्रेसमा युवा अर्थशास्त्री डा. स्वर्णीम वाग्लेको नियति पनि अन्य डा.को जस्तै भयो । कांग्रेसबाट चितवन, गोरखा वा काठमाडौं ५ बाट चुनाव लड्ने आकांक्षा राखेपनि डा. वाग्लेलाई पार्टीले टिकट नै दिएन । युवा र क्षमतावान अर्थशास्त्रीको छवि बनाउनुभएका वाग्लेलाई आसन्न निर्वाचनमा उम्मेदवार बनाउन पार्टीभित्र र बाहिर निकै ठूलो दवाव थियो । तर, पार्टीको आन्तरिक रस्साकस्सी र गठबन्धनमा भएको सिट बाँडफाँटको कारण प्रत्यक्ष निर्वाचन लड्ने वाग्लेको आकांक्षामा यस पटक ब्रेक लाग्यो ।