१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


युक्रेनलाई सैन्य र मानवीय सहयाेग जारी राख्ने जी ७ का प्रमुखहरुकाे प्रतिवद्धता


39
Shares

काठमाडौं । धनी राष्ट्रहरूको समूह जी ७ का नेताहरूले युक्रेनलाई सक्दाे सहयोग जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

गत सोमबार युक्रेनमाथि भएको रुसी क्षेप्यास्त्र हमलापछि जी ७ मा आवद्ध राष्ट्रका प्रमुखहरुले युक्रेनलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । कीएभमा आक्रमण भएपछि बसेको आकस्मिक भर्चुअल बैठकमा जी ७ का नेताहरूले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएका हुन् ।

यी नेताहरु बाहेक नर्थ एटलान्टिक सैन्य संगठन नेटोले पनि आवश्यक भएसम्म युक्रेनको साथमा उभिने बताएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जी ७ का नेताहरूलाई रुसलाई रोक्न पर्याप्त हवाई रक्षा सामथ्र्य उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले युक्रेन–बेलारुस सीमामा अन्तर्राष्ट्रिय मिसनलाई सहयोग गर्न पनि गठबन्धनलाई आग्रह गर्नुभएको छ ।

रुसले युक्रेनको राजधानी कीभसहित युक्रेनभरी गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए । आक्रमण मंगलबार पनि जारी रहेकाले नागरिकहरूलाई सुरक्षित आश्रयमा बस्न भनिएको छ । रुसी राष्ट्रपति पुटिनले रुसी कब्जामा रहेको क्राइमियालाई रुससँग जोड्ने पुलमा भएको आक्रमणको बदलामा क्षेप्यास्त्र प्रहार गरिएको स्पष्ट पार्नुभएको छ ।