७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्लाटिनम क्लबका २ जना बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ६ जना पक्राउ


468
Shares

काठमाडौं । दरवारमार्गस्थित प्लाटिनम क्लबका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाह्रबिसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मंगलबार बिहान ड्युटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो । आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । दुवै जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएलगत्तै घटनास्थल पुगेर संलग्नको खोजी कार्य गरिएकाे हाे । काभ्रेका अमित लामालगायतकाे लगानी रहेको प्लाटिनम क्लबमा केही अघि दुई बाउन्सरले एक समूहमाथि कुटपिट गरेको थियो । त्यही समूहले खुकुरी प्रहार गरेर बदला लिएको हुनसक्ने अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

कुटपिटमा परेको समूहले त्यसबेला ज्यान मार्ने धम्की समेत दिएको पीडित पक्षको भनाइ छ ।