
काठमाडौं । केही दशकअघिसम्म दुर्लभ रोग मानिने क्यान्सर आम बन्दै गएको छ । क्यान्सर रोगका कारण वर्षेनी हजारौं नेपालीले ज्यान गुमाउने गरेका छन् । खर्चिलो उपचारका कारण पनि क्यान्सर भनेपछि धेरैको सातो जाने गर्छ । खराब जीवनशैलीका कारण युवापुस्तामा क्यान्सरको जोखिम बढेको छ । नेपालमा फोक्सो क्यान्सरबाट संक्रमितको संख्या अधिक छ ।
नेपालमा क्यान्सरको संक्रमण कतिलाई छ भन्ने यकिन तथ्याङक छैन । तर विश्वमा प्रत्येक वर्ष १ करोड ८० लाख बढीमा क्यान्सर प्रभाव देखिएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसमध्ये फोक्सो क्यान्सरको समस्या जटिल बन्दै आएको छ । महिलामा पाठेघरको मुख, स्तन, रक्त क्यान्सरका विरामी बढेका छन् । सबैभन्दा धेरै फोक्सो, पाठेघरको मुख, स्तनको क्यान्सर देखिएको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउनुहुन्छ ।
स्कुले जीवनदेखि नै धुम्रपान, मध्यपान, जंग फुड तथा प्रदूषणका कारण क्यान्सरको जोखिम बढ्ने गर्छ । त्यस्तै, ५ देखि १० प्रतिशतसम्म हुने क्यान्सरको जड बंशाणुगत प्रभाव रहेको चिकित्सक बताउँछन् । नेपालमा ४० वर्षमाथि उमेर समूहलाई बढी मात्रामा क्यान्सर देखिएपनि अहिले त्यो क्रम उल्टिएको छ । क्यान्सर सुरुवाती चरणमा पत्ता लाग्न समस्या हुन्छ भने लक्षण देखिंदासम्म दोस्रो, तेस्रो चरणमा पुगिसकेको हुन्छ । जति क्यान्सर अन्तिम चरणमा पुग्छ, निको हुने दर उति नै कम हुन्छ । घाँटी र महिलाको स्तन क्यान्सर पहिलो चरणमै थाहा पाउन सकिने हुँदा उपचार प्रभावकारी हुने गरेको छ । एक सय जनामा ५० देखि ७० जना ढिलो आउने र ५ देखि १० जना उपचारमै नआउने गरेको डा. शाही बताउनुहुन्छ ।
केहि वर्ष अगाडीसम्म क्यान्सरको उपचार महंगो भएपनि अहिले सरकारले दिने १ लाख रुपैयाँ र केही निशुल्क औषधीले मद्दत गरेको बुझाई एकतिर छ भने अर्कातिर क्यान्सरले धनजन दुवै लैजाने गरेको पीडा भोग्नेहरुको संख्या उतिक्कै छ । नेपालमा क्यान्सर भएका ८० प्रतिशतले उपचार गराउने गरेको बताइन्छ । विश्वको दोस्रो घातक रोगको रुपमा रहेको क्यान्सर स्वस्थकर खानेकुरा, परिवारको सदस्यमा क्यान्सर देखिएमा अरुको समयमै परीक्षण हुँदा कमी आउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्