२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यक्ष ओलीले मागे गृहमन्त्री खाँणको राजीनामा


3.861k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रबिरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनुभयो । उहाँले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताउनुभयो ।

अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताउनुभयो । उहाँले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताउनुभयो ।

अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनुभयो । उहाँले नागरिकता सम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिनुभयो । अध्यक्ष ओलीले एनआरएनए जस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहीत हुने काम गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिवद्धता जनाउनुभयो । उहाँले गठबन्धन सरकारमा राज्यका विभिन्न अंगहरुले गल्ती गरेको दाबी गर्नुभयो ।