
काठमाडौं । जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले बताएका छन् ।
विश्वभर जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्युनिकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहका सरकारले समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न तीनै तहको सरकारले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सबै पालिकामा विपद् जोखिम न्युनिकरण र व्यवस्थापन समिति बनेको उल्लेख गर्दै सरकारले ऐन, कानून बनाउने सबै काम सकेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताउनुभयो । उहाँले सरकारले बनाएका नीति, नियमको कार्यान्वयनका लागि प्रविधि र पैसाको जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।
विगत १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको बताइएको छ । विगत १० वर्षको तथ्यांकअनुसार नेपालमा सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको सरोकारवालाहरुको भनाइ छ ।
१० वर्षमा सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएका, सबै खालका विपद्बाट २८ हजारजति पशुचौपायको क्षति भएको र ९ लाख जति भौतिक संरचनाहरु ध्वस्त भएको तथ्यांक छ । जलवायु परिवर्तनका कारण मात्रै विगत १० वर्षमा २० अर्ब बराबरको क्षति भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्