२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


डेंगु प्रकोपको रुपमा देखिन कम्तिमा तीन वर्ष लाग्ने


1.638k
Shares

काठमाडौं । काठमाडौं उपत्यकालगायतका पहाडी तथा हिमाली क्षेत्रमा डेंगु संक्रमण घट्दो क्रममा रहेको छ । तर तराईको तापक्रम हाल लामखुट्टेका लागि उचित भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम रहेको चिकित्सकहरुले बताएका छन् ।

यो वर्ष मनसुन सुरु भएसंगै उच्च संख्यामा देखिएको डेंगु पहाडी तथा हिमाली जिल्लामा केही चिसो हुन थालेपछि घट्न क्रममा रहेको छ । तर तराईमा संक्रमण बढ्ने अनुमान गरिएको छ । अब तराईको मौसम एडिस जातको लामखुट्टेका लागि उचित हुने भएकाले संक्रमणको जोखिम देखिएको विषेशज्ञहरु बताउँछन् । एडिस जातको लामखुट्टे धेरै गर्मीमा बाँच्न नसक्ने भएकाले पहाडी क्षेत्रमा डेंगु संक्रमण उच्च रहेको समयमा तराईमा संक्रमण कम देखिएको हो । यद्यपी पानी पर्ने, रोकिने र लाम्खुट्टेको लार्भा लामो समयसम्म नमर्ने हुँदा अबको डेढ महिनासम्म पहाडमा जोखिम यथावत छ ।

काठमाडौंमा समयभन्दा अगाडि नै डेंगुको संक्रमण सुरुभयो त्यसैले अब काठमाडौंमा डेंगुका बिरामीहरु धेरै भइसकेकाले अब विस्तारै कम हुँदै जाने छ । तर काठमाडौं बाहिरका जिल्लामा लाम्खुट्टेको लागी उचित वातावरण हुने भएकाले तराईमा डेंगुको संक्रमणको अब सुरु हुन सक्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

गएको साउनयता ३४ हजार बढीलाई डेंगु पुष्टि भइसकेको छ भने ४५ बढीको ज्यान गइसकेको छ । डेंगुको लक्षण देखिएपछि परीक्षण नै नगराई घरमा बसेर सिटामोल तथा झोलिलो खानेकुरा खाएर बस्नेहरुको संख्या धेरै भएकोले डेंगु संक्रमणको यकीन तथ्याङ्क छैन । सामान्यतया मनसुन सकिएपछि देखिने डेंगु यो वर्ष मनसुनकै समय देखिएको थियो ।

सन् २०७६ सालमा प्रकोपको रुपमा आएको डेंगु त्यसपछिका तीन वर्षसम्म कम देखिपनि पुनः यो वर्ष प्रकोपको रुपमा देखिएको हो । कम्तीमा पनि अबको तीन वर्षसम्म प्रकोपको रुपमा डेंगु नदेखिने बिज्ञको अनुमान छ । सामान्य रुपमा डेंगुको संक्रमण देखिए पनि प्रकोपको रुपमा देखिन २ देखि ३ वर्ष लाग्ने डा. पुन बताउनुहुन्छ ।

अत्यधिक शारीरीक पिडा हुने डेंगु उपचारको एकीन औषधि छैन । यसको संक्रमण केही मात्रामा घटेपनि जोखिम भने सकिएको छैन । लामखुट्टेबाट जोगिन भाँडा वा खाल्डो पानी संकलन नगर्ने, घर वरीपरि हिलो वा झाडी हुन नदिने लगाएतका सतर्कता अपनाउन चिकित्सकहरुको सल्लाह छ ।