
सर्लाही । मधेश प्रदेशका दुई जना चर्चित नेता राजेन्द्र महतो र महिन्द्रराय यादव फेरी यस पटकको चुनावमा पनि आमनेसामने भएका छन् ।
एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरी दुई जना पुनः दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका हुन् । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले र नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले उम्मेदवारी दिएका छन् । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भएपनि यादवले माओवादीसँगको सहमति अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे।
मधेशका यी दुई जना चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । किनकी दुवै जना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक-आपसमा चुनावमा लड्ने समेत गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधानसभाकाे चुनावमा त करिब सोही क्षेत्रहरु पर्ने तत्कालीन क्षेत्र नं. २ मा नै एक-आपसमा चुनावी मैदानमा उत्र्दा बाजी मारेका यादवसँग महतोले दोस्रो पटक पुनः भिड्ने उम्मेदवारी पक्का गर्नुभएकाे छ ।
२०७० सालमा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गर्नुभएकाे थियाे । २०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे । २०७४ सालमा महतो धनुषा-३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्न सफल हुनुभएकाे थियाे । यसपटक धनुषा-३ मा नेकपा एमालेकी नेतृ जुली महतो आफैं उम्मेदवार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किनुभएकाे छ ।
गत चुनावमा जुलीले सहयोग गरेकै कारण निधिलाई हराउनुभएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पुरानै मैदानमा फर्किएको एक नेताले बताएका छन् । त्यहाँ एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि सभाका सदस्यमा उम्मेदवारी दिनुभएकाे छ । साहले २०७० सालको संविधान सभा निर्वाचनमा समेत एमालेबाटै संविधानसभा सदस्यका लागि उम्मेदवारी दिनुभएकाे थियाे।
प्रतिक्रिया दिनुहोस्