
काठमाडौं । एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ ।
एमालेले शुक्रबार मधेश प्रदेश कमिटीले रौतहट जिल्ला कमिटी विघटन गरेको हो ।
प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिनुभएको छ ।
अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ ।
एमाले रौतहटका प्रभावशाली नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्ला कमिटी विघटन गरिएको हो । साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
उहाँ निकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट ‘विद्रोह’ गरेका साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।
सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्क्रिय पारिने भएको हो ।
प्रतिक्रिया दिनुहोस्