१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इच्छाराज तामाङलाई पुर्पक्षको लागि थुनामा राख्न विशेष अदालतको आदेश


1.378k
Shares

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

ठगी र संगठित अपराध कसुरमा थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष तामाङसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी तामाङले नागरिकको रकम हिनामिना गरेको र त्यस्तो रकम आफ्ना विभिन्न व्यावसायिक कम्पनीहरुमा लगानी गरेको आरोपमा भन्दै उनीविरुद्ध ठगी र संगठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

तामाङ र केशवलाल श्रेष्ठले ती कसुरबाट आर्जित सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रुपन्तरण समेतका निषेधित कार्यहरु गरी सम्पत्ति शुद्धीकरणको कसुर गर्ने मनसायले आफ्ना परिवारका मानिसहरुबीच अशंबण्डा गरी आफ्नो र परिवारका मानिहरु संलग्न रहेका सिभिल होम्स प्रालि लगायतका कम्पनीहरुमा गैरकानूनी स्रोतको रकम लगानी गरी सम्पत्ति लुकाइछिपाइ राखेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोग लगाएको थियो ।

विभागले सम्पत्ति शुद्धीकरणको मुद्दामा ६ जना प्रतिवादीबाट कूल ४ अर्ब ९७ करोड ७७ लाख ९९ हजार १७२ रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, उनीहरुलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको सजाय माग गरिएको हो ।