
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशलामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ ।
शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित हुनुभएको हो ।
भव्य रुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्नुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतियोगिता गण्डकीमा ३९ वर्षपछि आयोजना भएको हो ।
यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । नवौंको अधिकाँस खेलहरु पोखरा रंगशालामा हुनेछन् । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने छ ।
यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् ।






















प्रतिक्रिया दिनुहोस्