४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

प्रतिनिधिसभा निर्वाचन : कसले पाए, कसले गुमाए ?


104
Shares

काठमाडौं । सरकार ढाल्न र जोगाउन सांसदमाथि लाग्ने सुरासुन्दरीदेखि लाभका पद तथा पैसाको खोला बगाइएकाे इतिहासको विकृत रुपको अर्को अध्याय अब टिकट वितरणबाटै सुरु भएको छ ।

एउटा पार्टीको टिकट पाएको उम्मेदवार मनोनयनमा जाँदा अर्को पार्टीको भइसकेको स्वयं त्यही पार्टीको नेतृत्वले थाहा नपाउने अवस्था भित्रिएको हाे । लोकतन्त्रको कस्तो विचित्र अभ्यास सुरु भएको छ भने आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्छु भन्ने कार्यकर्ता धमाधम कारबाहीमा पर्न थालेका छन् ।

गठबन्धनका नाममा अनन्त शक्ति र सत्तादोहन गर्ने विकृत मानसिकताले गणतान्त्रिक व्यवस्थाको आयुमा प्रश्न उठ्ने क्रम सुरु भएको छ । चुनावदेखि नै विधि, पद्दतिलाई तिलाञ्जलि दिने यो खेलले ल्याउने जटिलताको उपचार देशको राजनीतिक संयन्त्रले थेग्न नसक्ने खतरा बढेको छ । पहिला शुद्ध चुनावको विकृत अनुहार संसदमा हेर्न पाइन्थ्यो । तर, अहिले टिकट बाँडेबाटै विकृति स्थापित हुने गरेको छ । कसैसँग चुनावी सहकार्य नगर्ने अडान देखाउँदै आएको एमाले भूमिका गठबन्धनका विद्रोहीलाई वैधानिकता दिने अस्त्र बनेको छ ।

कमल थापालाई सुर्य चिन्ह दिएर चुनाव उठाउँदा पार्टीको इज्जत कति धुलिसात हुन्छ भन्ने आत्ममूल्यांकन नेतृत्वले गरेको देखिएन । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, अमृतकुमार बोहोरा जस्तापात्रले टिकट नपाउनु समाचारको मसला बनेन । बरु प्रचण्डको सेखी झार्न कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाजस्ता मध्यमकोटीका नेता बोकेर आफ्ना कार्यकर्ताको मानमर्दनमा एमाले नेतृत्व रमाएको देखियो ।

प्रभु शाहलाई एमालेले टिकट दियो, चुनावी मैदानमा अर्को पार्टीको टिकट लिएर अवतरित हुनुभयो, अन्ततः उहाँलाई जिताउने ठेक्कालिन गठबन्धनमा हतारो देखियो । एमालेले नपत्याएपछित्रिकोण चुनाव चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनावी मैदानमा आएका भुसाललाई अन्ततः गठबन्धनले धाप मारेको छ । सबै भन्दा रोचक त के भने सर्वदलीयदलको अघोषित समर्थनबाट दीपक मनाङे प्रदेश सांसदमा निर्विरोध हुने स्थितिमा पुग्नुभएको छ ।

राजेन्द्र लिङदेन पार्टी सभापति चुनिएपछि असन्तुष्ट भएर अर्को पार्टी खोलेका कमल थापा र लिङदेनलाई एमाले अध्यक्ष केपी ओलीले दुई काँधमा बोकेर हिंड्नुभएको छ । कुनै दिन आफ्नै पार्टीबाट सांसद रहेका विनोद चौधरीको रुख काट्न ओलीले दिएको बन्चरो लिएर हृदयेश त्रिपाठी चुनावी मैदानमा हुनुहुन्छ । चुनावी झाँकी यतिमै सकिदैन,गठबन्धनबाट बाहिरिनासाथ जनता समाजवादी पार्टीका चार मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले घोक्रेठ्याक लगाएको चौबीस घण्टा नवित्दै मधेश प्रदेशका तीन मन्त्रीले पदबाट भारी बिसाउनु परेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले चितवन-३ मा गैरराजनीतिक व्यक्तिलाई टिकट दिएर त्यो क्षेत्र आफ्नी मेयर छोरी रेणुका लागि सुरक्षित गर्नुभएको छ । एक मात्र सन्तान मानुषीको राजनीतिक भविष्य बनाउन डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग फेरी भद्दा लोलोपोतो सुरु गर्नुभएको छ ।

लोकतन्त्रको मूल्य, मान्यता र विधिकै चिरहरण हुने गरी देखिएका यस्ता खाले गतिविधिले अब बन्ने संसद, सरकार र जनप्रतिनिधिका कामकारबाही लोकतन्त्रको कसिमा कस्तो देखिएला ?