
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार ओनसरी घर्तीले आफू निर्वाचित भएमा दुई वर्षभित्रमा जोरपाटी-साँखु सडकखण्ड निर्माण सम्पन्न गराउने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बनाउनुभएको हो ।
गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी-साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गर्नुभएको छ । यदी सो अवधिमा निर्माण कार्य सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने उहाँले बताउनुभयो ।
उहाँले साँखु बजार र शालीनदीको पर्यटकीय विकासमा ध्यान दिने पनि बताउनुभयो । उहाँले जर्सिङपौवालाई संग्रहालयको रुपमा विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेता घर्तीले दक्षिणढोका, मुलपानी लगायतका क्षेत्रमा हुने डुबानको समस्यालाई समाधान गर्न योजना बनाउने तथा व्यवसायिक तरकारी, फलफूल खेतीको बिस्तार, रोजगारी वृद्धि गर्ने कामलाई उच्च प्राथमिकता राख्ने बताउनुभयो ।
त्यसैगरी मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशालाको काम छिट्टै सम्पन्न गराउने, युवालाई रोजगारी र खेलकुदमा जोड्ने कार्यक्रम बनाउने पनि उहाँले प्रतिवद्धता व्यक्ति गर्नुभयो ।
उहाँले विमानस्थल निर्माणका क्रममा प्रभावितहरुको समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि उल्लेख गर्नुभयो । कोटेश्वरमा हुने जामको समस्यालाई हटाउन आवश्यक पहलकदमी लिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्