१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तीन महिनामा इन्धनबाट मात्रै १४ अर्ब बढीको राजस्व संकलन


234
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब १४ करोड राजस्व संकलन गरेको छ ।

आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयातमा उल्लेख्य राजस्व संकलन भएको हो ।

सोही अवधिमा ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको ६ लाख ३२८ किलोलिटर इन्धन आयात भएको निगमले जनाएको छ । सो अवधिमा १ लाख ७४ हजार १ सय किलोलिटर पेट्रोल, २ लाख ६४ हजार ३६२ किलोलिटर डिजेल आयात भएको बताइएको छ ।

यस्तै, मट्टीतेल २ हजार ३८० किलोलिटर, हवाई इन्धन ३६ हजार किलोलिटर र ग्यास १ लाख १८ हजार २९५ मेट्रिक टन आयात भएको निगमको तथ्यांक छ । बजारमा खपत बढेसँगै इन्धन आयात बढ्दै गएको निगम बताउँछ । साउनदेखि हालसम्म इन्धन आयात गरेर भन्सार शुल्क बापत ८ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको निगमले जनाएको हो । यस्तै, पूर्वाधार करबापत ४ अर्ब ३८ करोड ४६ लाख, सडक मर्मत दस्तुरबापत १ अर्ब २२ करोड र प्रदूषण करबापत ६५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिलिटर पेट्रोल कुल राजस्व ६३ रुपैयाँ ३६ पैसा, डिजेल ४७ रुपैयाँ ०३ पैसा, मट्टीतेल १३ रुपैयाँ ७५ पैसा, हवाई इन्धन २६ रुपैयाँ ३० पैसा र खाना पकाउने ग्यास प्रतिसिलिन्डरमा ३११ रुपैयाँ संकलन हुन्छ । भन्सार बिन्दुमा संकलित राजस्व सरकारको खातामा जम्मा हुने गर्छ ।