
काठमाडौं । नेपाली कांग्रेसका कन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आसन्न निर्वाचनमा गठबन्धनका दलहरुबीच कुनै तित्तता नरहेको दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेस काठमाडौं–सिन्धुपाल्चोक सम्पर्क समितिले आइतबार काठमाडांैमा गरेको कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले गठबन्धनमा अब कुनै तित्तता नरहेको र आसन्न चुनावमा मतदान पनि यही अनुसार हुने बताउनुभयो । सत्तागठबन्धनका तर्फबाट सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले गठबन्धनको तर्फबाट सबैलाई समेट्ने गरी टिकट वितरण भएको र नपाउनुपर्नेले टिकट पाएको जस्तो अनुभूति कसैलाई नभएको दावी गर्नुभयो ।
अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक १ बाट उम्मेदवार बनेपनि यसपटक उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्नुभएको छ । नेता बस्नेतले आफुले जितेपछि सिन्धुपाल्चोक २ मा कांग्रेस कहिल्यै नहार्ने गरी काम गर्ने दाबी पनि गर्नुभयो ।
कार्यक्रममा नेता बस्नेतले आफुले जितेपछि उक्त क्षेत्रमा गर्ने विकासका कामको फेहरिस्त नै प्रस्तुत गर्नुभयो । कार्यक्रममा गठबन्धनका तर्फबाट क्षेत्रनम्बर २ क का उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले गठबन्धनका उम्मेदवारलाई इमान्दारीपूर्वक सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारलाई इमान्दारीपूर्व निर्वाचित गराएपनि उक्त क्षेत्रमा निर्वाचत सांसदले कुनै काम नगरेको उहाँले बताउनुभयो ।
अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार शेरबहादुर तामाङले कांग्रेसको समर्थनमा उम्मेद्वार बन्नुभएका राप्रपाका पशुपति शमशेर जबरालाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्