२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बीपीका सहयात्रीदेखि तीन दशक एकछत्र प्रभाव जमाएका नेताहरु चुनावी प्रतिस्पर्धाबाट अलग


91
Shares

काठमाडौं । वि.स. २०४६ सालको राजनीतिक परिवर्तनले ल्याएको बहुदलीय शासन प्रणाली र २०६२/६३ जनआन्दोलनबाट स्थापित गणतान्त्रिक शासन व्यवस्था ल्याउन जेलनेल खाएका शीर्ष तहका नेताहरु यस पटकको चुनावमा टिकटबाट वञ्चित भएका छन् । धेरैलाई पार्टी नेतृत्वले पत्याएन भने केही स्वेच्छाले राजनीतिक जीवनबाट निवृत्त भएका छन् । मंसिर ४को चुनावमा न नयाँ नेतृत्व स्थापित हुने छाँट छ, न पुरानाले बिदा पाइसकेको स्थिति छ । चुनावी परिणामले अबको राजनीतिमा कस्को वर्चस्व स्थापित हुने निर्धारण गर्ने छ ।

कांग्रेसको सरकार बन्नासाथ स्थायी अर्थमन्त्रीका रुपमा रहँदै आउनुभएका डा. रामशरण महत अब संसदमा देखिनु हुने छैन । टिकट नपाएसँगै उहाँको सक्रिय राजनीति अन्त्य जस्तै भएको छ । खुल्ला अर्थतन्त्रका पक्षपाती डा. महतकै अर्थनीतिले स्वास्थ्य, शिक्षा, हवाई यातायात, बैंकिङजस्ता क्षेत्रमा निजी क्षेत्र अभूतपूर्व सहभागिता जनाएको जश पाउँदै आएको छ । त्यसैगरी, अर्थमन्त्री कालमा अत्यन्त कुशल भूमिका निर्वाह गर्नुभएका महेश आचार्यलाई संसदमा प्रवेश गराउन कांग्रेसले आवश्यक ठानेन । कम उमेरमा अर्थमन्त्री हुने मौका पाएका आचार्यलाई अर्थतन्त्र सन्तुलित राख्ने शिल्पी मानिन्छ ।

नेपाली कांग्रेसबाट यस निर्वाचनमा शीर्ष नेता केबी गुरुङ, दमननाथ ढुंगाना, तारानाथ रानाभाट, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, सुनीलकुमार भण्डारी, उमा रेग्मी, मीना पाण्डे, सीतादेवी यादव चुनावी मैदानमा हुनुहुन्न । यसैगरी लक्ष्मण घिमिरे, विनयध्वज चन्द, डा. अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, शेषनाथ अधिकारी, हरि नेपाल, अर्जुन खड्का, हरिनाथ बास्तोलालगायत पटक पटक केन्द्रीय राजनीतिमा हस्तक्षेप गर्ने कांग्रेस नेताहरु करिब करिब विश्रामको राजनीतिमा पुग्नुभएको छ ।

यसैगरी, नेकपा (एमाले) नेता डा. भीम रावल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य। युवराज ज्ञवाली, उपमहासचिव विष्णु रिमाल दुवै संसदमा देखिनु हुने छैन । सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्य राधा ज्ञवाली, विन्दा पाण्डे, थममाया थापा, शिवमाया तुम्वाहाम्फे, सीताकुमारी पौडेलले टिकट पाउनु भएन ।

माओवादीले पनि शीर्ष नेतृत्वलाई अघोषित राजनीतिक विश्रान्ति दिएको छ । सभामुख अग्निप्रसाद सापकोटा, उपाध्यक्ष कृष्णबहादुर महरा, हरिबोल गजुरेल, मुख्यमन्त्री त्रिलोचन भट्ट र कुलप्रसाद केसीलगायतको पखेटा काटिएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रतिस्पर्धामा उत्रिनुभएन । विद्यार्थी राजनीतिबाट उदाएका उमेशजंग रायमाझी, नैनसिंह महर, लेखनाथ न्यौपाने, विष्णु रिमाल, भूपेन्द्रजंग शाहीका लागि पनि पुस्तान्तरणको मुद्दा सपना बन्यो । न पुराना सबै समेटिए, न नयाँको आकांक्षा पूरा भयो । यस अवस्थामा यो चुनाव सवैका लागि एउटा अग्निपरीक्षा बनेको छ ।