
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राखिने बताएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएको छ ।
निगम अझै १५ दिनमा ३९ करोड रुपैयाँ नाफा छ । तर, सञ्चित नोक्सानीका कारण तत्काल मूल्य समायोजन नहुने निगमले जानकारी दिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ ।
जसअनुसार निमगलाई डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ नोक्सानी छ । तर, निगमलाई पेट्रोलमा १४ रुपैयाँ ५६ पैसा, मटितेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाइ इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा र अन्तराष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा प्रतिलिटरमा नाफा छ ।
डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमको भनाइ छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । यसअघि तीन पटक मूूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको छैन ।
प्रतिक्रिया दिनुहोस्