१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


चुनावी प्रचार सामाग्री भण्डारमा व्यस्त बागबजारका व्यवसायी


91
Shares

काठमाडौं । मतदानको तिथि आउन एक महिना बाँकी रहँदा प्रचार सामग्री छाप्ने कालिगढ रहने बागबजारका व्यवसायीहरु व्यस्त हुन थालेका छन् । व्यवसायीहरु पार्टीको झण्डा, चुनाव चिन्ह अंकित ब्यानर, घोषणापत्र लगायतका चुनावी सामाग्री बनाउन सुरु गरेका छन् ।

हरेक चुनावमा काठमाडौंको बागबजार क्षेत्रका व्यवसायी चुनावी प्रचार सामाग्री बनाउन व्यस्त रहन्छ । बागबजारलाई प्रचार सामाग्री बनाउने मुख्य थलो मानिन्छ । विभिन्न दलले दिएको माग अनुसार प्रचार सामग्री बनाउने व्यवसायी व्यस्त छन् । स्वतन्त्र उम्मेदवार पनि आफ्नो चुनाव चिन्ह अंकित प्रचार सामग्री निर्माणमा जुटेका छन् । कतिपय व्यवसायी हतारमा माग आउन सक्ने अवस्थाको मध्यनजर गरी प्रचार सामाग्री भण्डार गर्ने होडमा छन् ।

निर्वाचन आयोगले आचारसंहितामा राजनितिक दल तथा उम्मेदवारको चुनाव चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी सर्ट, टोपी गम्छा, मास्क, लकेट वा अन्य कुनै पनि पहिरन तथा स्केच बनाउन नपाइने उल्लेख गरेपछि विगतको तुलनामा भने चुनाव प्रचार सामाग्रीको कम अर्डर आउने व्यवसायीहरु बताउँछन् । चुनाव आउन अझै एक महिना समय भएकाले दलहरुले चुनावी आमसभा, र्‍याली, घरदैलो अझै सुरु गरिन सकेकोले गर्दा प्रचार सामाग्री कम माग आएको व्यवसायीहरु बताउछन् ।

विगतको तुलनामा स्थानीय तह चुनावमा धेरै कम चुनावी प्रचार सामाग्री छाप्ने कम माग आएको थियो । यो पटक भने व्यापारी बजार सुध्रिने आशमा छन् । यता, निर्वाचन आयोगले प्रचार सामाग्रीमार्फत प्रचार प्रसारमा बन्देज लागेसंगै दलहरु तथा स्वतन्त्र उम्मेदवारहरु सामाजिक सञ्जालमार्फत प्रचार प्रसारमा आकर्षित हुँदै गएका छन् ।

निर्वाचन आयोगले पर्चा, होर्डिङ बोर्ड, पम्पलेटहरुले बजार कुरुप हुनबाट जोगिएको छ । तर सामाजिक सञ्जालबाट गरिने प्रचारको सस्तो शैलीप्रति निगरानी जरुरी छ ।