
म्याग्दी । नवौं राष्ट्रिय खेलकुदका कारण म्याग्दीको बेनीका होटेलहरु भरिएका छन् ।
खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६ सय १७ जना र खेल हेर्न जाने दर्शकले त्यहाँका होटल भरिएका हुन् ।
असोज २७ गतेदेखि सुरु भएको खेलकुदमा सात प्रदेश र विभागीय टीम गरी ११ टीमका खेलाडी, प्रशिक्षकहरू र दर्शकका कारण यहाँका होटलहरु र पर्यटकीय स्थलहरु भरिभराउ भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले खेलकुदका कारण सदरमुकामको अर्थतन्त्र चलायमान बनेको बताउनुभयो ।
हिमाली पर्यटकीय जिल्ला म्याग्दीमा नवौं राष्ट्रिय खेलकुदका महिला भलिबल र तेक्वान्दोका खेल सदरमुकाम बेनीमा संचालन भइरहेका छन् ।
होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनीनगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकीप्रदर्शनी गरेर खेलकुद प्रेमी तथा अन्य पर्यटकहरुलाई समेत आकिर्षत गरेको बेनीनगरपालिका–७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बेनीका १२ ओटा होटेलमा खेलाडी, प्रशिक्षक एवं अफिसियलहरूलाई राखिएको बताउनुभयो । प्रतियोगिताका लागि बेनी आएका सबैलाई सुविधा सम्पन्न होटेलहरूमा राखिएको उहाँको भनाइ छ ।
होटेलको सेवा सुविधाअनुसार रोजेर बसेका खेलाडीहरूले दैनिक एक हजार देखि उक हजार ५ सय रुपैयाँसम्म तिरिरहेका छन् । जिल्लामा भइरहेको राष्ट्रियस्तरको खेल प्रतियोगिताले होटेल व्यवसायीसहित जिल्लाका अन्य व्यवसायीहरूलाई पनि फाइदा पुगेको होटेल व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले दाबी गर्नुभयो ।
आचार्यले जिल्ला आएका पर्यटकहरूको आरामदायी बसाइ र स्वादिष्ट खानाका लागि होटेल व्यवसायीहरूले सकेसम्म राम्रो व्यवस्था गरिएको बताउनुभयो । जिल्लामा आएका खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई पर्यटकीय स्थानमा जानका लागि बसको समेत व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्