
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज मंगलबार फाइनल प्रवेशका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र बागमती प्रदेशबीचमा प्रतिस्पर्धा हुँदैछ ।
लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा पुलिसले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
फाइनल प्रवेशका लागि हुन लागेको सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको पुलिस र गण्डकी प्रदेश दुवै टिमको नेतृत्व म्याग्देली महिला खेलाडीले सम्हालेका छन् ।
प्रतियोगितामा म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी कमला पुनले पुलिसको र रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुणा शाहीले गण्डकी प्रदेशको टिमको कप्तानी सम्हालेकी छन् । गण्डकीको टिममा म्याग्दीकै अन्य चार खेलाडीहरु समेत सहभागी छन् । शाही राष्ट्रिय महिला भलिबलको समेत कप्तान हुन् ।
म्याग्देली दुई चेलीहरुले नेतृत्व गरेको टिमनै फाइनल प्रवेशका लागि आमनेसामने हुँदा आम म्याग्दीबासीको लागि खेल निकै रोचक र रुचिकर हुने देखिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्