
काठमाडौं । गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवर्द्वन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ ।
उहाँले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवर्द्वनका लागि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभएको हो । उहाँले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार उदय समशेर राणाले देशको आर्थिक अवस्थामा परिवर्तन ल्याउनको निम्ति बाम–लोकतान्त्रिक गठबन्धनले दुई तिहाई मत ल्याउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने र देशको आर्थिक अवस्थामा सुधार ल्याई बेरोजगार युवाहरुलाई रोजगारी दिने लक्ष्य रहेको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत एमालेको भन्दा १५ हजार बढी रहेको भन्दै आफ्नै मत सुरक्षित गरेमा निर्वाचन जित्न सकिने बताउनुभयो ।
ललितपुर क्षेत्र नं. २ का गठबन्धनका उम्मेदवार नेकपा कृष्णलाल महर्जनले प्रतिगमनकारीहरुलाई परास्त गर्नका लागि आफैँलाई उम्मेदवार ठानेर निर्वाचनको काममा लाग्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले आफू विगतमा सांसद हुँदा मतदातारुले शिर झुकाउनुपर्ने गरी काम नगरेको भन्दै आगामी दिनमा पनि मतदाताको शिर झुकाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले विगतमा आफ्नै नेतृत्वको गलत कामको विरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै खराब कामको विरुद्धमा सधैँभरी लाग्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्