७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्याग्दीमा केराखेती फस्टाउदै, ५ गुणा बढी आम्दानी गर्न कृषक सफल


117
Shares

म्याग्दी । म्याग्दीका ३ वटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी अहिले केरा खेती गरिएको छ ।

व्यासायिक रुपमा गरिएको केराखेतीबाट साेही गाउँका कृषकले अन्नबालीको तुलनामा ५ गुणा बढी आम्दानी लिन थालेका छन् । कृषकहरुले वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । कृषकहरुले १२ देखि १७ रोपनी खेतमा ६ सय केरा खेती लगाएका छन् ।

म्याग्दीका ३ वटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरी व्यवसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यवसायिक रुपमा गरिएको केराखेतीबाट यहाँका कृषकहरुले अन्नबालीको तुलनामा ५ गुणा बढी आम्दानी गर्दै आएका छन् ।
बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा केरा खेती आम्दानीको राम्रो माध्यम भएको बताउनुहुन्छ । करिब १४ रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गर्नुभएका शर्माले केरा बिक्री गरेर वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी भएको बताउनुहुन्छ ।

त्यसैगरी रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले १२ रोपनी क्षेत्रफलको जग्गामा १ हजार केराका बिरुवा लगाउनुभएको छ । उहाँले फर्ममा व्यावसायिक रुपमा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे र चिनी लगायतका प्रजातिका केरा खेती गर्नुभएको हो । केरा खरिद गर्न व्यापारीहरु आफैं आउने गरेकाले बिक्री गर्न कुनै समस्या नरहेको उनी बताउछन् । ४ वर्षदेखि सुरु गरेको केरा खेतीबाट उनले वर्षमा ३ देखि ४ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।

बेनी नगरपालिका–२ को खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ राखिएको छ भने बगरफाँटमा पनि धान फल्ने खेतका गह्रामा केरा खेती गरिएको स्थानीय कृषक दुर्गाबहादुर थापाले बताउनुभयो । केरा गाउँका केरा भनेपछि म्याग्दीमा अलग्गै पहिचान बनिसकेको छ । १७ रोपनी खेतमा ६ सय केरा लगाउनुभएका थापाले केरा बिक्री गरेर एक सिजनमा ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी लिन सकिने बताउँछन् ।

खबरा, बगरफाँट र रिसिन चौतारीका प्रत्येक कृषकले केरा खेती गरेका छन् । यहाँका कृषकले एक सयदेखि ३ हजारसम्म केराका विरुवा लगाएका छन् । खबरा, बगरफाँट र रिसिन चौतारीलाई केराको पकेट क्षेत्र घोषणा गरिएको बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।