
म्याग्दी । सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुन: पुरानै लयमै फर्किएको छ ।
कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैतदेखि २०७८ सालको भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि संक्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुवातदेखि नै सुधार हुँदै आएकोमा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फकिएको हो । यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल सुरु भएको छ ।
बेनी बजारमा अहिले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तेक्वान्दो र महिला भविल खेल भैरहेको छ । खेल हेर्नका लागि विभिन्न जिल्लाहरुबाट दैनिक २ हजार बढी दर्शकहरु बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालिगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् ।
वि.स. १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सोही नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरी हिमालजस्ता विश्वप्रशिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा ३ वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीहरुले बताएका छन् ।
कोभिड– १९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि सुनसान वनेका पर्यटकीय स्थलहरुमा असोज शुरु भएपछि पर्यटकहरुको भीड लाग्न थालेको छ । बेनी बजारमा मायालुको जोडी देखिन थालेका छन् । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् । वि.स.१८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।
इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गरेकाे उहाँले बताउनुभयाे । जाडो छल्नका लागि मात्र ढोठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने बानियाँले जानकारी दिनुभयो । पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।
वि.स. १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी भएकाे बानियाँकाे भनाइ छ । बाग्लुङ मुस्ताङ तिरको थोक बजार पारीबेनी नै भएकाे उहाँले बताउनुभयाे । बेनीमा स्कुल पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल भएकाे उहाँले बताउनुभएकाे छ । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको उहाँकाे तर्क छ । पारी बेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयाे । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुने क्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ ।
साथै अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिड नै कङ्क्रिडका भव्य घर बनेका छन् । बेनी बजार अति महङ्गो बजार मध्येको बजार बन्न पुगेको छ । वैदेशिक रोजगारीका कारण गाउँबाट शहर झर्नेको क्रम तीव्र रुपमा बढेको छ । गाउँ खाली भएपनि बजार भरिएको छ । घर-जग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ ।
पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल र रेस्टुराँ निर्माण समेत गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक ४ अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्रमा यहाँका व्यवसायीहरुले ठूलो लगानी गरेका छन् ।
बेनी नगरपालिकाको ७ र ८ गरी २ वटा वडामा समेटिएको बेनीबजार ५ सय १२ रेक्टर क्षेत्रफलमा फैलिएको छ । बेनी बजारमा १४.४५ जनघनत्व रहेको छ ।
साथै २०६८ सालको जनगणनाको तथ्याङ्क अनुसार बेनी बजारमा २ हजार घरधुरी र ७ हजार जनसङ्ख्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस्