
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको रिट हेर्न नभ्याइनेमा परेको छ ।
आफ्नो उमेदवारी खारेजविरुद्ध गुरुङले सर्वोच्च अदालतमा हालेको रिटमा बुधबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो ।
बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । सोही विरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न बुधबार न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो ।
हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि बुधबार सुनुवाइ हुन सकेन । गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो ।
गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उहाँले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गर्नुभएको थियो । आयोगले बदरको निर्णय सदर गरेपछि उहाँ आयोगका विरुद्ध रिट लिएर सर्वोच्चमा पुग्नुभएको हो । गुरुङलाई ७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्