
काठमाडौं । मुलुककै राजधानी काठमाडौंको चुनावलाई हरेक निर्वाचनमा विशेष चासोका साथ हेर्ने गरिएको छ । मुलुकमा भएका हरेक राजनीतिक परिर्वतनमा निर्णायक भूमिका, समग्र राजनीतिमा प्रभाव पार्नसक्ने र देशकै राजधानी भएका कारण काठमाडौंको चुनाव विशेष चासोको विषय बन्ने गरेको हो । यसपटक पनि काठमाडौंको चुनाव विविध कारणले चर्चा र चासोको विषय बनेको छ । सबैभन्दा धेरै १० वटा प्रतिनिधिसभा र २० प्रदेशसभा निर्वाचन क्षेत्र भएको काठमाडौंमा यसपटक कतै द्धिपक्षीय त कतै चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनको लागि दलगत २१ र स्वतन्त्र ११ गरी ३२ जना प्रतिस्पर्धामा रहेपनि नेपाली कांग्रेस प्रकाशमान सिंह, एमाले किरण पौडेल र राप्रपाका रविन्द्र मिश्रबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा सिंह र मिश्रबीच मुख्य टक्कर भएको यो क्षेत्रमा यसपटक पौडेल थपिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक समेत रहेका सुशासन पार्टीका उम्मेदवार रमेश खरेल स्थापित दलका उम्मेदवारलाई चुनौती बन्ने खतरा छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्रको रुपमा चिनिँदै आएको क्षेत्र नम्बर २ मा एमाले र सत्तागठबन्धनका उम्मेदवारबीच तीब्र प्रतिष्पर्धा हुने देखिन्छ । अध्यक्ष नेपालले यसपटक गृह जिल्ला रौतहटबाट उम्मेदवारी दिएकाले यो क्षेत्रमा पार्टीगत संगठन, व्यक्तित्व र गठबन्धनको कारण नेकपा एमाले मणिराम फुयाल र सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख समेत रहनुभएकी नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीबीच टक्कर हुने देखिन्छ । यो क्षेत्रमा २० दलीय र १० स्वतन्त्र गरी ३० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
काठमाडौं निर्वाचन क्षेत्र ३ बाट दलगत १५ र स्वतन्त्र ८ गरी २३ जनाको उम्मेदवारी परे पनि नेकपा एमाले उम्मेद्वार कृष्णबहादुर राई र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । राई अघिल्लो निर्वाचनका विजेता हुन् भने चालिसेलाई गठबन्धनका दलहरुको साथ छ ।
कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवारी दिनुभएको क्षेत्र नम्बर ४ मा यसपटक पनि अघिल्लो निर्वाचनकै उम्मेद्वारबीच प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा थापाका निकटतम् प्रतिद्वन्द्वी राजन भट्टराईलाई नै यसपटक एमालेले मैदानमा उतारेको छ । यसपटक महामन्त्री थापा जितको ह्याट्रिकलाई रोक्ने दाउमा रहनुभएका भट्टराई तात्कालिन वाम गठबन्धनको साझा उम्मेदवार हुँदा पनि पराजित हुनुभएको थियो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ बढी चर्चामा छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई टक्कर दिन नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मैदानमा उत्रिनुभएको छ । विवेकशील पार्टीकी पूर्वनेतृ एंव चर्चित अभियन्ता रञ्जु दर्शनाको उम्मेदवारीले यो क्षेत्रको प्रतिष्पर्धालाई थप रोचक बनाएको छ । दलगत १३ र स्वतन्त्र ११ गरी २४ जना उम्मेदवार मैदानमा रहेको क्षेत्र नम्बर ६ मा सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका भिमसेनदास प्रधान उम्मेदवार बन्दा नेकपा एमालेले नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई मैदानमा उतारेको छ । प्रेमसागर कर्माचार्य र निर्देशन सिलवालको स्वतन्त्र उम्मेदवारीले यो क्षेत्रमा राजनीतिक दलका उम्मेद्वारको लागि चुनौती बन्न सक्छ । प्रधान राष्ट्रिय राजनीतिमा परिचित नाम भएपनि खनाल भने राजनीतिमा नितान्त नयाँ हुन् ।
निर्वाचन क्षेत्र नम्बर ७ मा चारपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा नेकपा एमालेबाट श्यामकुमार घिमिरे, सत्तागठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठ प्रतिष्पर्धामा रहँदा एमालेबाट लगातार अघिल्लो २ निर्वाचन जित्नुभएका रामबिर मानन्धरले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । चार उम्मेदवारको आ–आफ्नो पहुँच र विशेषता हुँदा यो क्षेत्रको चुनावी भिडन्त रोचक बन्न पुगेको छ ।
निर्वाचन क्षेत्र नम्बर ८ बाट १९ जनाको उम्मेदवारी परे पनि एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य र सत्ता गठबन्धनका उम्मेद्वार जीवनराम श्रेष्ठबीच घाँटीघाँटी प्रतिस्पर्धा हुने देखिन्छ । हाम्रो नेपाल पार्टीका सुमन सायमी र राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको उम्मेदवारले वैद्य र श्रेष्ठलाई चुनौती बन्न सक्छ । एमालेबाट कृष्णगोपाल श्रेष्ठ, सत्ता गठबन्धनका तर्फबाट कल्पना धमलासहित दलगत १६ र स्वतन्त्र १० जनाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ९ मा स्थापित दलका उम्मेदवारबीच नै घम्साघम्सीको स्थिति छ । पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठ गत निर्वाचनका विजेता हुनुहुन्छ भने धमलाको लागि यो निर्वाचन क्षेत्र नितान्त नयाँ हो । विवेकशील नेपाली दलका संस्थापकमध्येका एक मिलन पाण्डेको उम्मेदवारी श्रेष्ठ र धमलाको लागि चुनौती बन्न सक्छ ।
पहिलो संविधानसभाको निर्वाचनदेखि चर्चित क्षेत्र नम्बर १० मा यसपटक त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ । दोस्रो संविधानसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गत निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार हितमान शाक्यलाई पराजित गर्न सफल राजेन्द्रकुमार केसीलाई यसपटक पनि कांग्रेसले चुनावी मैदानमा उतारेको छ । माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा सत्तागठबन्धन फुटेको छ । एमालेले हिमेस केसीलाई मैदानमा उतारेपछि यो क्षेत्रमा त्रिपक्षीय भिडन्त निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्