
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको छ ।
सचिव आचार्यले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरुले एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको हो । उहाँले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गर्नुभयो ।
उहाँले देशमा प्राप्त भएका राजनीतिक उपलब्धीहरु गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरुको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरुले आह्वान गर्ने बताउनु भयो ।
नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका बिरुद्ध अग्रगामीहरुको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताउनु भयो । जहाँ जुन पार्टीको उम्मेदवार भएपनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उहाँको भनाइ छ ।
माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनावचिन्हमा मतदान गर्नु बाध्यता भएको बताउनु हुन्छ । उहाँले गठबन्धका उम्मेदवारहरु देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नुपर्ने बताउनु भयो । चाहना नभएपनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्