
सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामकुमार घिमिरेले आफू निर्वाचित भएमा सिन्धुलीलाई नमूना जिल्ला बनाउने बताउनु भएको छ ।
बिहिबार क्षेत्र नम्बर १ स्थित दुधौली नगरपालिकाको कोगटीमा सत्ता ठबन्धनका उम्मेदवारद्वारा आयोजित घरदैलो र कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सिन्धुलीलाई बिकासमा नमूना जिल्ला बनाउने दाबी गर्नुभयो । घिमिरेले आफू सिन्धुलीमै जन्मे हुर्किएकाले सिन्धुली र सिन्धुलीका जनताका समस्या आफूलाई थाहा भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले विगतमा एमालेका उम्मेदवारले पटक– पटक जितेर गए पनि जिल्लाको विकासमा केही नगरेका बताउनु भयो । एमालेले २५ वर्षमा सिन्धुलीमा गर्न नसकेको काम आफूले ५ वर्षमै गरेर देखाउने दाबी पनि उहाँले गर्नु भयो । अब एमालेका झुठा आश्वासन जनताले नपत्याउने घिमिरेको भनाई छ ।

झण्डै दुई तिहाइको बहुमतको सरकार हुँदा पनि एमालेले जनताका पक्षमा काम गर्न नसकेको उहाँको आरोप छ । घिमिरेले आफूले जितेमा सिन्धुलीका जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी पनि गर्नुभयो । ’हामी निर्वाचित भए २५ वर्षमा नेकपा एमालेले गर्न नसकेका काम गर्नेछौं । सिन्धुलीका जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं,’ घिमिरेले भन्नु भयो ।
शिक्षामा सबैको पहुँच, स्वास्थ्य,खानेपानी, सडक र पूर्वाधारको विकास लगायत ऐतिहासिक सम्पदा, विविध संस्कृति र परम्पराको संरक्षणमा आफ्नो प्राथमिकता रहने पनि उहाँको भनाई छ । उहाँले गठबन्धनका नेता कार्यकर्तालाई निर्धक्क भएर एकतावद्ध रुपमा निर्वाचनमा होमिन आग्रह पनि गर्नु भयो ।कार्यक्रममा कांग्रेस सहितको सत्ता गठबन्धनमा रहेका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्