१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली-२ मा उम्मेदवारले विकास र सम्वृद्धिका एजेण्डालाई चुनावी मुद्दा बनाउँदै


130
Shares

सिन्धुली । आगामी मंसिर ४ गते हुने चुनावका लागि सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवारहरुले विकास र सम्वृद्धिका एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् ।

उम्मेदवारी दिएपछि आफ्नो चुवानी क्षेत्रमा बैठक र भेटघाट जस्ता कार्यक्रममा सहभागी भइरहँदा उम्मेदवारहरुले जिल्लाको भौतिक विकास तथा आर्थिक सम्वृद्धि गर्ने कुरालाई स्थानीयकाबीचमा उठाउदै आएका हुन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा नेकपा एमाले र सता गठबन्धन दलका उम्मेदवारहरुकाबीचमा तीब्र चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावका लागि विभिन्न राजनीतिक दल तथा केही स्वतन्त्रबाट उम्मेदवार बनेका उम्मेदवारहरुले आफ्नो चुनावी क्षेत्रको विकास र जनताको सेवा गर्ने बताउदै जनताकाबीचमा मत माग्न थालेका छन् । सिन्धुली-२ मा राप्रपाबाट भिष्मराज श्रेष्ठ, नेकपा माओवादीबाट लेखनाथ दाहाल र नेकपा एमालेकातर्फबाट मनोजजंग थापा उम्मेदवार बनेका छन् ।

सिन्धुलीमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि कुल ४० जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । आफ्नो चुनावी क्षेत्रमा भौतिक विकास, शिक्षा, स्वास्थ्य र खानेपानी लगायत पूर्वाधारहरु विकास गर्ने प्रतिवद्धता समेत जनाउदै आएका छन् ।

दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेशसभा क्षेत्र रहेको सिन्धुलीमा आगामी चुनावमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारहरुले जिल्लाको विकास र जनताको सेवा गर्ने विषयलाई बढी महत्व दिइरहेका छन् । एक नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा क्षेत्र नम्बर २ का सबै मानव बस्तीहरुमा अझै पनि विकासका सबै पूर्वाधारहरुको अभाव रहेको छ ।

गरीबी पछौटेपन र बेरोजगारीको समस्याले सामान्य जनजीवन समेत प्रभावित बन्दै आएको छ । चुनावको मिति नजिकिंदै गर्दा बेरोजगारीको समस्याले यस क्षेत्रका दुर्गम र पिछडिएका मानव बस्तीका स्थानीय युवायुवतीहरु बढदो रुपमा विदेश पलायन भइरहेका छन् ।