
म्याग्दी । जिल्लाको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रका धान पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ ।
बिहानेदखि बेलुकासम्म नै कोदो टिप्न कृषकहरु बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतबारीसम्मै पुग्न थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला घरदैलो अभियानमा जुटेका छन् । निर्वाचन आयोगले उम्मेदवारहरुको प्रचारप्रसार अभियानको लागि सभा, समारोह र आमसभा गर्नका लागि मतदान हुने दिन अघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा छन् ।

म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका हरि भण्डारी र (ख) मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचारप्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् । प्रदेशसभा (क) अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीहरुमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहेका छन् ।

जिल्ला २ वटा प्रदेशसभा क्षेत्र, ६ वटै स्थानीय तहमा गठबन्धनकाेतर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै निर्वाचनकाे प्रचारप्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिनुभयाे । गठबन्धनकोतर्फबाट प्रदेश सभा (ख) का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरी गाउँपालिका–१ गुर्जा पुगेकाे छ ।

मालिका गाउँपालिकाभित्रका सबै वडाहरुमा निर्वाचन प्रचारप्रसार समिति गठन गरी अभियानको सुरुवात गरेको टोलीले धवलागिरी गाउँपालिकाको सबै भन्दा बिकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेश सभा (ख) का संयुक्त निर्वाचन प्रचारप्रसार समितिका संयोजक टंकप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिका गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका लगायत सहभागी भएका छन्।

जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा एमालेले समेत घरदैलो अभियान चलाएको छ । एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क) का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगंगा गाउँपालिकाको विभिन्न वडा, टोल र वस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गरेकाे छ । एमालेको यस टोलीले रघुगंगा–८, कुईनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख) मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन लगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरुले समेत घरदैलो अभियान चलाएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने तयारी भैरहेको छ । दलहरुले प्रचारप्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेश सभाका दुई गरी प्रत्येक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना उम्मेदवार कडा प्रतिस्पर्धा हुने भएकाे छ।
प्रतिनिधिसभामा स्वतन्त्रसहित ९ जना, प्रदेशसभा क्षेत्र (क) मा ५ जना र (ख) मा ६ जना उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्