
इलाम । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेतसँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पहिलो पटक फरक दलबाट चुनावी परीक्षामा होमिंदै छन् ।
खनाल उहाँकै पुरानो पार्टी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग र नेम्वाङ नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण यस पटकको इलामको चुनाव रोचक बन्ने देखिएको छ ।
इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर – १ बाट चुनाव लड्दै आउनुभएका खनाल यसपटक फरक पार्टी नेकपा एकीकृत समाजवादीका तर्फबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नेम्वाङ इलाम क्षेत्र नबर – २ मा नेकपा एमालेबाट चुनाव लड्दै हुनुहुन्छ । खनालको यो संसदीय चुनावी यात्रा लगातार सातौं पटक हो भने नेम्बाङको संसदीय चुनावी यात्रा लगातार पाँचौं पटक हो । खनाल लगातार पाँच वटा चुनावमा निर्वाचित हुनुभएकाे छ ।
नेकपा एमालेबाट लगातर चुनाव जित्नुभएका उहाँ यो पटक भने पाँच दलीय गठबन्धनको सहारामा एकीकृत समाजबादीबाट चुनाव लड्दै हुनुहुन्छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावकोे नतिजा हेर्दा खनाललाई यसपटक एक्लै चुनाव जित्न कठिन हुने देखिन्छ । त्यसैले उहाँ कांग्रेससहितको पाँच दलीय गठबन्धनको सहारामा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। तर, खनाल आफू चुनाव जित्नेमा ढुक्क देखिनुभएकाे छ ।
खनालको निर्वाचन क्षेत्रमा सूर्याेदय, माई नगरपालिका तथा माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । खनालको जितका लागि पाँच दलीय गठबन्धन मध्येको कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विगतका चुनावमा खनालको प्रतिस्पर्धी नेपाली कांग्रेस थियो भने यो पटक भने आफ्नै पुरानो पार्टी नेकपा एमालेसँग चुनावी मैदानमा होमिनु भएकाे छ । खनाललाई एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले कडा टक्कर दिदै हुनुहुन्छ ।
उता इलामको क्षेत्र नम्बर – २ बाट नेकपा एमालेबाट एमाले उपाध्यक्षसमत रहेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का चुनावी मैदानमा छन् । खड्काको उमेदवारी सत्तारुढ गठबन्धन नेपाली कांग्रेसबाट रहेको छ । २०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने यो पटक गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ । यस पटकको निर्वाचनमा नेम्वाङलाई सत्ता गठबन्धन मुख्य चुनौती बन्ने छ । तर नेम्वाङ भने आफूले चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ।
विकास निर्माणको काम नगरेको भन्दै नेम्वाङसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिन्छ । २०७४ को संसदीय चुनावमा माओवादी र एमालेबीचको गठबन्धनबाट नेम्वाङले चुनाव जित्नुभएकाे थियाे । नेम्वाङको बढ्दो असन्तुष्टिकाबीच र गठबन्धनको बढ्दो विश्वासका कारण आफूले चुनाव जित्नेमा गठबन्धनका उमेदवार डम्बर खड्का पनि विश्वस्त देखिनुभएकाे छ । इलाम–२ मा दुई नगरपालिका र ३ गाँउपालिका रहेका छन् ।
अघिल्लो चुनाव जति रोचक थियो खनाल र नेम्वाङ बेग्ला बेग्लै पार्टीमा भएको यो चुनाव त्यो भन्दा बढी रोचक हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्